
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने औंल्याउनु भएको हो ।
शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तकको बिमोचन कार्यक्रममा उहाँले दुई देशबीचको सदिऔँदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धि सबै समस्याहरु हल गरेर अघि बढनैपर्ने तर्क गर्नुभयो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्शामा समाविष्ट गरेर संविधानको अंग बनाएसँगै मलुुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले नयाँ नक्सा कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।