
काठमाडौं। भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको ठगी प्रकरणले सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसभित्र विवाद भएको छ । प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई निलम्बन गर्ने कि नगर्ने ? भन्नेबारे विवाद भएको हो ।
पूर्व गृहमन्त्री खाँडबारे निर्णय गर्न कांग्रेसको दुई पटक पदाधिकारी बैठक भइसकेको छ । तर पदाधिकारीबीच धारणा बाझ्दा निर्णय भने हुन सकेको छैन । शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाँड बुधबार पक्राउ परेपछि त्यसबारे निर्णय गर्न सभापति शेरबहादुर देउवाले त्यसदिन साँझ नै पदाधिकारी बैठक बोलाउनु भएको थियो । बैठकमा खाँडलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषय जोडदार रुपमा उठ्यो । तर सभापति देउवासहित संस्थापन पक्षका केही नेताको निलम्बनमा असहमत रह्यो । त्यहीकारण बैठक निश्कर्षविहीन बन्यो र फेरि बिहीबारको लागि तोकियो । खाँँडबारे निर्णय गर्न कांग्रेसको बिहीबार साँझ बसेको पदाधिकारी बैठक पनि निश्कर्ष विहीन नै बनेको छ ।
सहभागीका अनुसार बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका केही नेताले खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने अडान लिनुभएको छ । तर सभापति देउवासहित संस्थापन पक्षका नेताहरु भने त्यसमा असहमत देखिनुभएको छ ।
सहभागी नेताका अनुसार सभापति देउवाले बैठकको शुरुमै छोटो धारणा राख्नु भएको थियो । सभापति देउवाले खाँडमाथि अनुसन्धान मात्र भइरहेको बेलामा अहिल्यै निलम्बन किन गर्ने ? निलम्बन त दोषी ठहरिए मात्रै गर्ने हो, पार्टीको विगतको नजिर पनि यस्तै छ, भन्ने धारणा राख्नुभएको थियो । त्यसपछि पूर्व उपप्रधानमन्त्री विजयकुमारले सभापति देउवाको धारणामा समर्थन जनाउँदै अहिल्यै निलम्बन गर्न नहुने तर्क गर्नुभयो । खाँडलाई दुःख परेको बेला हेर्नुपर्ने गच्छदारको भनाइ थियो। तर महामन्त्री गगन लगायतका नेताहरुले भने पहिला र अहिलेको परिस्थिति फरक रहेको धारणा राख्दै खाँडलाई निलम्बन गर्नुपर्नेमा जोड दिनुभएको सहभागी नेताको भनाई छ ।