
काठमाडौं। प्रतिनिधिसभामा प्रि–बजेटबारे चार दिनसम्म छलफल हुने भएको छ । प्रतिनिधिसभामा बजेट पूर्व (प्रि–बजेट छलफल) गर्ने चलन छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकले प्रि–बजेट छलफल चार दिन चलाउने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने अर्थमन्त्रीको प्रस्तावपछि प्रि–बजेट छलफल शुरु हुने बताउनुभयो । सांसद न्यौपानेका अनुसार अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मंगलबार पाँचरपाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिनुहुनेछ । त्यसपछि प्रतिनिधिसभामा प्रि–बजेट छलफल सकिनेछ ।