Logo

सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले लिएअनुमति


Nagarik Abaj १९ बैशाख २०८०, मंगलवार ११:१४ मा प्रकाशित

काठमाडौं l वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताउनुभयो । 

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गर्नुभएका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताउनुभयो । 

इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो । दोस्रो शिविदेखि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ ।

इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाका अनुसार अहिले सगरमाथाको चौँथो शिविरसम्म बाटो बनिसकेको छ । पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् । मौसम अनुकुल हुने वित्तिकै चुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताउनुभयो । साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उहाँको भनाइ छ ।

 नेपालसहित ६५ देशका आरोही
पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८९, भारतबाट ४०,३, हङ्गेरीबाट ३३, क्यानडाका २१, रुसका १८, बेलायतका १५ र नेपालका १५ आरोहीले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । 

सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले आरोहण गरेका छन् । तथ्याङ्कअनुसार हालसम्म तीन सयभन्दा बढी आरोहीले सगरमाथा  आरोहणका क्रममा ज्यान गुमाएका छन् । आरोहणलाई व्यवस्थित गर्न पर्यटन विभागले सगरमाथाको आधारशिविरमा सम्पर्क कार्यालय खोलेर आवश्यक कर्मचारी खटाएको छ ।


ताजा समाचार