
भैरहवा । मंगलबारदेखि बेलहियासहित रुपन्देहीसँग जोडिएको नेपाल भारत सीमा बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश महराजगंजमा मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल–भारत सीमा नाका बन्द गर्न लागिएको हो ।
वैशाख २१ गते हुने महराजगंजको नगर निकाय निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलबार साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाकाहरू बन्द गर्न लागिएको हो । चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजे सम्म) सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
सीमा बन्द भए पनि पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव वाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकका लागि भने खुला रहने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।