Logo

सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आएको छ: रेखा शर्मा


Nagarik Abaj १९ बैशाख २०८०, मंगलवार ११:०९ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेका जनाउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यक माध्यमका रूपमा स्थापित हुन पुगेको बताउनुभएको छ ।

सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुका साथै लागत कटौतीमा मद्दत पुगेको जनाउँदै उहाँले नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यक सेवा, अनलाइनमार्फत घरैबाटै पाउन सक्ने अवस्थाको सिर्जना भएको बताउनुभएको छ ।

सूचना प्रविधिलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उहाँको भनाइ छ । मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको जनाउनुभएको छ ।


ताजा समाचार