
विराटनगर । विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कोशी प्रदेश नामाकरणपछि त्यसविरुद्ध आन्दोलनरत प्रदर्शनकारी र प्रहरीबीच शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि झडप भएको हो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई नियन्त्रण गर्ने क्रममा दुई पक्षबीच झडप भएको हो । प्रदर्शन नियन्त्रण गर्ने क्रममा आन्दोलनकारी माथि प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा चैत ५ गते घाइते भई उपचारको क्रममा १० गते जीवन गुमाएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।