
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिरमा हुने आमनिर्वाचनको तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । पार्टी मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गंगालाल तुलाधरलाई दिएको छ ।
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता साउन ३१ गतेसम्मका लागि तोकेको छ । बुधबारको बैठकले घोषणपत्र मस्यौदा तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रयलाई दिएको छ ।
घोषणापत्र तयार गर्न प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव वेदुराम भुसालले जानकारी दिए । त्यसैगरी, उम्मेदवारीको मापदण्ड र छनोट विधिबारेमा प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव भुसाललाई दिइएको छ ।