काठमाडौं। गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि हप्तामा ४ पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा हप्ताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए ।
नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा हप्तामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः हप्तामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए ।
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर हप्तामा चार पटक उडान गर्ने भएको हो । सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ ।