स्तन क्यान्सरको वंशाणुगत परीक्षण अब नेपालमै

Nagarik Sewa 1541+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

काठमाडौं। नेपालमा स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ। यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो।  

प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेपछि वंशाणुगत परीक्षण सम्भव भएको हो। अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए।

‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो,’ उनले भने, ‘अब देशबाहिर नमूना पठाउनु पर्दैन।’ यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भएरनभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनु पर्ने बाध्यता थियो।

यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ। सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ। बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नुपर्ने समस्या कम हुने भट्टले जानकारी दिए।

प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ। योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ। भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ। र, नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन्। तर प्रयोगशालाले भने ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ।

नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गरेका थिए। अहिले ती परीक्षण नियमित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार