काठमाडौं। नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशन सम्बन्धी विवाद मिलाउन आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक बोलाइएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ का अनुसार बैठकको एजेण्डा महाधिवेशनका सन्दर्भमा रहेको विवाद समाधानका उपाय खोज्ने रहेको छ । पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसै दिन उनको कार्यतलिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।
थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरू र यादवको कार्यतलिकालाई संस्थापनका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दा समर्थन गरेपछि विवाद मिल्न सकेको छैन ।